कुशल भुर्तेलको अल राउन्ड प्रदर्शनमा नेपाल ‘ए’ ले अष्ट्रेलियामा जारी टप एन्ड टी-ट्वन्टीमा एसिटी कमेट्सलाई ४ विकेटले हराएको छ। नेपालको यो लगातार दोस्रो जित हो।
टस जितेर नेपालले पहिले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको एसिटी कमेट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो।
४६ रन जोड्दा एसिटीले ४ विकेट गुमाइसकेको थियो। टाइलर भ्यान लुइ ९ रनमा, अंश तिवारी १९ रनमा जाक कियोग ८ रनमा र टम होगन गोल्डेन डक आउट हुन पुगे।
यसपछि पनि ठुलो साझेदारी बन्न सकेन्। डाइलन हन्टरले सर्वाधिक ४४रन बनाउँदा जेक स्मिथले १४ रन बनाए। चार बाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन्।
बलिङमा कुशल भुर्तेलको प्रदर्शन उत्कृष्ट रह्यो। २ ओभर बलिङ गर्दै ३ विकेट लिए। युवराज खत्रीले २ विकेट झारे।
जितको लागि १ सय ४१ रनको विजय लक्ष्य नेपाल ‘ए’ ले १९ ओभर २ बलमा ६ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर त्रितराज दास यो खेलमा पनि चल्न सकेनन्।
गोल्डेन डक आउट भएका उनले खेलेको चार खेलमा मात्र २९ रन बनाएका छन्। लगतै अर्का ओपनर मयान यादव पनि २१ रनमा आउट भए।
पहिलो पावर प्ले सकिंदा नेपालले दुई विकेटको नोक्सानीमा मात्र ३९ रन बनाएको थियो। यसपछि क्रिजमा टिके। अनिल साह घाइते भएपछि मौका पाएका कुशल मल्ल भने ६ रनमा नै आउट भए। लगतै लोकेश बम पनि १२ रनमा आउट भए।
इनिङ्स सम्हालेका कुशलले ४१ बल खेल्दै ४ चौका र १ छक्का सहित अर्धशतक बनाए। ६१ रन जोडेर कुशल आउट भए। पवन सर्राफ अविजित २९ रनमा रहँदै नेपाललाई जिततर्फ डोर्याए।
बलिङमा जाक केवोगले सर्वाधिक ३ र जित मेहताले २ विकेट लिए।
सुरुवाती दुई खेलमा खराब प्रदर्शनका साथ हार बेहोरेको नेपाल `ए´ ले तेस्रो खेलमा पहिलो जित निकालेको थियो। लगातारको दोस्रो जितमा नेपाल अंक तालिकाको सातौं स्थानमा रहेको छ।
सेमिफाइनलमा पुग्ने संभावनालाई बलियो बनाउन अब बाँकी दुई खेलमा जित निकाल्न जरूरी छ। नेपलले अब भोलि हैदराबाद किंग्ससँग खेल्नेछ।














